Home » » आगोको सुरुङमा घाइते भएका अर्का युवकको पनि निधन

आगोको सुरुङमा घाइते भएका अर्का युवकको पनि निधन

kisan | 10:53 PM | 0 comments
समुन्द्र पौडेल, तनहुँ, पुस ४ - विश्व कीर्तिमानका लागि तनहुँको दमौलीमा निर्माण गरिएको सुरुङमा आगो लगाउने क्रममा आगलागीमा परी घाइते भएका व्यास ११ का भरत सिंह थापाको निधन भएको छ। एक सातादेखि काठमाडौँको सुन्धारास्थित लाइफकेयर अस्पतालमा उपचारार्थ थापाको बुधबार राति करिब १० बजे निधन भएको हो। 

१ सय ५ मिटर लामो आगोको सुरुङमा मोटरसाइकल कुदाएर विश्व किर्तिमान कायम गर्न तनहुँको दमौलीमा मंसिर २६ गते आयोजना गरेको कार्यक्रममा अगलागी हुदाँ भरत सिंह थापा र घाँसिकुवा ४ टारका सुरेश पन्थ घाइते भएका थिए। सुरेश पन्तको गत बिहीबार वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
तनहुँ मिर्लुङका शम्शेर बहादुर लम्सालले १ सय ५ मिटर लामो आगोको सुरुङभित्र मोटर साइकल कुदाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन कार्यक्रमको आयोजना गरेको थियो। आगोको सुरुङमा मोटर साइकल कुढाउने कार्यक्रमका आयोजक गण्डकी कम्प्युटर इष्टिच्युटका संचालक बसन्त सदाशंकर र मोटरसाइकल चालक शम्शेर बहादुर लम्साल प्रहरी नियन्त्रणमा छन्।
मृतकका परिवारलाई राहत उपलब्ध गराउन मानव अधिकार संजालको संयोजनमा सहयोग रकम संकलन शुरु गरेको छ। संजालले विभिन्न व्यक्ति र संघसंस्थासंग सहयोगको आह्वान गरेकोमा दमौलीका माधव बहादुर पन्तबाट ५ हजार रुपैया सहयोग प्राप्त भएको संजालका अध्यक्ष गोविन्द पन्तले बताए। उनले भने, 'सहयोगका लागि आह्वान भइरहेकाले अन्य व्यक्ति र संस्थाबाट समेत सहयोग आउने अपेक्षा गरेका छौ।'
सरकारकै मन्त्री सहभागी कार्यक्रम भएकाले मृतक परिवारलाई सरकारले राहतका लागि पहल गर्नुपर्ने पन्तको भनाई थियो।
मंसिर ९ गते सहकारी तथा गरिबी निवारण मन्त्री एकनारायण ढकाल र तनहुँका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले संयुक्त रुपमा सुरुङमा आगो लगाएर कार्यक्रमको उदघाटन गरेपनि आगो नबलेका कारण विश्व कीर्तिमानका लागि आयोजित कार्यक्रम मंसिर २६ मा सरेको थियो।
Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test