Home » » वहकिने मन 66th episode 2070-4-28 with script.........

वहकिने मन 66th episode 2070-4-28 with script.........

kisan | 1:27 AM | 0 comments


एउटा भिन्नै रेडियो कार्यक्रम वहकिने मन
Episode : 66
Host : Mahabir Biswakarma
Time and day : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161
Facebook page : www.facebook.com/bahakineman
CIN मार्फत देशभरिका विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंकका  साथै कार्यक्रमको  सुरुवातमा बहकाउने स्क्रिप्ट पनि आजदेखि प्रस्तोता महाविर विश्वकर्माबाट प्रस्तुत गर्ने अनुमति प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको  छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : वहकिने मन 66th episode 2070-4-28

नोट  : फायल डाउनलोड हुदा episode 65 देखिएपनि episode 66 हो ...

कार्यक्रम को सुरुवाती स्क्रिप्ट (२०७० श्रावण २८)

घर शुन्य भयो, गाउँ शाखा शुन्य भयो ।
विदाईमा रोएको त्यो आँखा शुन्य भयो । ।
तिमीले हवाईजहाज चढेर गएदेखी
यता गाउँमा हलो चल्ने पाखा शुन्य भयो । । ।

(((((((((((((तिम्रो खरको छानो चुहेर पिँढी मै आहाल छ, स्वरः जीवन शर्मा )))))))))))))))))))))))))))))))))

ए...विदेशिएको मान्छे कस्तो छ तिमीलाई ???? अचेल त खबर पनि आउँदैन तिम्रो । अस्ति चिउरी बोटे काकाको छोरा आ थे क्यारे, खत पठायौ की भन्ने आशाले तिम्री आमैले सोध्न पठाकी थिन् मलाई । खत त पठाएनछौ तर त्यति सञ्चो छैन रे तिम्लाई..दुब्लाका छौ रे भनेर सुनाउँदै थे । त्यो खबर तिम्री आमैलाई चाहीँ सुनाइनँ मैले, झन पिरलोमा पर्लिन की भन्ने डर लाग्यो ।
माया मार्यौ क्यारे मुग्लानी....अचेल त सपनामा पनि आउँदैनौ तिमी । हाम्रो घरको रेडियोले तिम्रो खबर सुनाउँदैन, चुनाव हुन्छ र हुँदैन भन्दै ठुल्ठुला मान्छेहरु बाझेको कुरा मात्रै सुनाउँछ । अनि अचेल त झन को को ठुल्ठुला मान्छेहरु खै क—कस्को पार्टीमा गए रे भन्ने के के जाती कुरा मात्रै सुनाउँछ । कुनैदिन त तिम्रो खबर पनि सुनाउला की भन्दै रेडियोमा कान थापिरहेका हुन्छौँ हामी । बडे बडेमाको लडाइँ पर्छ रे विदेशमा त, कहिलेकाहीँ सुनामी हो की, के थरी आएर सब्बै सखाप पार्छ रे । हाम्रो तिर त भुईँचालो आउँदा पनि एकैछिन मात्रै भुईँ हल्लाउँछ, केही अनिष्ट नभएर हो की किन हो, रमाइलै लाग्छ । तर विदेशमा त कति हो कति मान्छेको, परानै लाने गरि आउँछ रे भुइँचालो पनि । अनि कहिले काहीँ त आगोको ज्वाला नै निस्किन्छ र जमिनबाट । यी सब्बै कुराहरु सम्झिँदा त, हाम्रै गाउँ निको लाग्छ मलाई त । अझ अस्ति मलेसियामा त्यहीँ घर भएका केटाहरुसँग यहाँबाट गएका नेपाली दाजुभाईहरुको निक्कै ठुलो झगडा परेको कुरा सुनेदेखी त तिम्री आमैले राम्ररी भात खान पनि छोडेकी छिन् । “मेरो बाबु झोडी छ, कसैले हेपेको सहँदैन, न त्यसको पनि यस्तै झगडा पो पर्छ की, मान्छे फुच्चे छ, न पो कसैले पाक्क पुक्क पारेर झाडीमा फ्याल्दिन्छन् की” भनेर खुब्बै रुँदै थिइन म सँग । आमाको मन न हो साथी, परदेशको ठाउँ, नचिनेका मान्छे । के भो होला, कसो भो होला, चिन्ता त लाग्छ नै ।
यो पाली वर्खा पनि पोहोर, परार सालभन्दा बेसी नै भयो यतातिर । दार्चुलाको सदरमुकाममा बाढी पसेको खबर त तिमीले पनि सुन्यौ होला । हाम्रै पखेराहरुमा पनि पहिरो खस्यो यसपाली । ओखर साइँलाको एक हल गोरुलाई गोठै सहित लग्यो पहिरोले । डाँडो मुन्तिरको तिम्रो घर जेनतेन अहिलेसम्म उसैगरि उभिएर बसेको छ, भलै खरको छानो ठाउँठाउँमा चुहिएर पिँढिमा आहाल बनेको छ, आँगन भत्केर बिजोग छ । फेरीपनि बा ले दुखजेलो जोडेको खाँबोहरु भने अझै डग्मगाएका छैनन् । अस्ति शनिबार मकै पिन्न घट्ट गएर फर्किँदा तिम्रो घरमा पसेथेँ । आमैले निक्कै गुनासो गर्दैथिन् । तिम्रो न्यास्रो लाग्दा विहेमा माईतीले पठाइदिएको पुरानो ट्यांकाबाट तिम्रो तस्बीर निकालेर अघाउञ्जेल हेर्दा रैछिन् । “अहिले त यो काले पनि कत्रो भइसक्यो होला जेठा” भन्दै थे मलाई । यसपालीको हिउँद नकटाउनु भनेर काजीले ऋण तिर्न ताकेता दिइराका छन् रे । नत्र टारीको गैरी खेत हडप्ने बताएको छ र उसले । “कालेको बा ले पसिना बगाएर जोडेको यै एउटा चिनो पनि साहुको भागमा पर्ने भो जेठा” भनेर बिलानो गर्दैथिन् आमैले । तिमी त ठुलो सपना लिएर मुग्लानी बनेको मान्छे । पैसा कमाएर आउँछु भन्दै घर खेत साहुकोमा बन्धकी राखेर हिँडेको मान्छे । दिन दुई गुना, रात चौगुना साहुको ऋण आकासिएको छ । कसरी निखन्नौला र खै ।
मैले आमैलाई केही भनेर सम्झाउनै सकिन साथी । उन्ले “अब त घरले जा जा, बगरले आइजे आइजे भन्ने बेला भइगयो, त्यो कालेको अनुहारै नहेरी मर्छु की बाबु” भन्दा, भित्रैदेखी भक्कानिएर आएँ म । अनि तीन कुरुवा पिठो नाङ्गलोमा हालिदिएर मन अमिलो बनाउँदै घर फर्किएँ । आफु त अहिलेसम्म एक्लै बसेको मान्छे, सँधै आफैले ढिँडो ओडालेर खान्थेँ, तर त्यो दिन जाँगरै चलेन । आँखाभरि तिम्रो तस्बीर आइरह्यो अनि कानमा आमैले भनेका कुराहरु एकतमासले ठोक्किरहे रातभरि, “अब त घरले जा जा, बगरले आइजे आइजे भन्ने बेला भइगयो, त्यो कालेको अनुहारै नहेरी मर्छु की बाबु” ।

साथीसँगी कस्तो छैन खै, सँगत हेरी तर्किनु रे ।
अनेकथरि ख्वाउन खोजे, रिसाएर झर्किनु रे । ।
निखन्नु छ गैरी खेत, बा को चिनो यै हो भन्थिन्
न्यास्रिएछिन् बुढी आमै चाँडै घर फर्किनु रे ।

(((((((((((((((((भाको पेट साँझमा, पटुकी कस्दछिन् )))))))))))))))))))

घर फर्किने मन त तिमीलाई झन बढी होला । घामको एक टुक्रो उछिट्टिएर आङैमा आएर खसेजस्तो भत्भती पोल्ने त्यो मरुभुमिको तातोमा के रमाएको होला र मन । तिम्रो पनि रहर होलान् । केही पुराना तर अझै अधुरा सपनाहरु होलान् । अनि होलान, एैजन एैजनका वाध्यताहरु । सँगैका साथीभाईहरु कति कति कमाउने भएका छन् । कोही पढेर ठुला मान्छे भएका छन् । कोही व्यापार गरेर धनीमनी भएका छन् । सानो छँदा माथ्लाघरे लाहुरे बाजेले ‘ए तोरी लाहुरे हो’ भनेर बोलाउँथे हामीलाई, हामी त त्यो भन्दा ठुलो हुनै सकेनछौँ । यी सब्बै कुराहरुले तिमीलाई पनि त हरेक रात पिरोल्छ होला नी । हैन र ??? दिन, हप्ता र महिना गर्दै कति वर्षहरु बिति गए, भेट हुनेहरु पनि बिस्तार बिस्तार टाढिएर गए, जबर्जस्ती अडिएर बसेको पारिपट्टि डाँडोको खोरिया पनि यो वर्षको पहिरोमा सँगै गयो । तर तिम्रो हाम्रो दुःखका दिन भने कहिल्यै पनि गएन साथी । हाम्रो त कर्मै खोटो छ की जस्तो लाग्छ कहिलेकाहीँ त । भावीले छैठीमा भाग्य लेख्नै बिर्सिका थिए क्यारे हाम्रो त । नत्र सँधै एकनासको दुख त नहुनु पर्ने हो नि । कहिलेकाहीँ त आफ्नै जीन्दगी देखेर विरक्त लागेर आउँछ, अनि जङ्गलबीचको महादेव थानमा गएर एक्लै चिच्याउँछु, हे भगवान दुखीको घरमा मात्रै तेरो बास हुने भए कृपा गरि मलाई अझै दुख थपि दे भन्छु । मेरो पुकार सुने नि नसुनेझैँ गर्छ त्यो ढुङ्गाको भगवान ।

भगवानहरु पनि सालिक भएपछि ।
सालिकहरु नै फेरी मालिक भएपछि । ।
देवताहरु पनि जनमतसंग्रहबाट चुनिन्छन्
भक्तहरु विस्तारै बालिग भएपछि । । ।

धेरै अघि एकरात सपनामा देखेथेँ तिमीलाई ।
कस्तो छ त विदेश भनेर सोधेथेँ मैले ? तिमी भन्दैथ्यौ, विदेश त साह्रै गर्मी हुँदो रहेछ, यहाँको भाषा पनि नबुझिने ।
साथीभाई कस्ता छन् नी भनेर सोधेँ ? सबै म जस्तै छन्, हप्ताभरि ओभर टाइम समेत लिएर काम गर्ने, अनि कहिले शुक्रबार आउला र ज्यानलाई आराम दिउँला भनेर बस्ने । सबैको अनुहारमा एकैखाले चिन्ता देख्छु, साहुको रिन कसरी निखन्ने भन्ने, भन्यौ तिमीले ।
काम कत्तिको गाह्रो छ नी ? भनेर फेरी सोधेँ मैले, ख्याउटे परेको अनुहारमा फिस्स हाँसेझैँ गरि जवाफ फर्कायौ तिमीले, काम को के कुरा गर्नु साथी, विदेशको ठाउँ यस्तै त हो । मुदिरले कहिले काहीँ साहै्रै नै गर्छ, भनेर वाक्य टुङ्गयायौ तिमीले । तिम्रा ठेला उठेका हातहरु देखेपछि त्यो विषयलाई फेरी खोतल्ने चेष्टा गरिनँ मैले पनि । बरु गाउँको याद कत्ति आउँछ नी भनेर अर्को जिज्ञासा राखेँ ।

अनि तिमी एकसुर ले बर्बराउन थाल्यौ,
“विदेशीएको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ त्यति गाउँमै बस्नेहरुलाई चाहीँ पिरोल्दैन होला सायद । उनीहरुले गाउँको माया, देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोँच्न भ्याएका हुँदैनन् जस्तो लाग्छ मलाई छ । तर जब विदेश जाने निक्र्यौल गरेको एउटा मान्छे लाईनमा उभिएर बडो प्रयासले पासपोर्ट हातमा पार्छ, त्यतिबेला पहिलो पटक चसक्क चस्किँदोरहेछ मन, ढिलो चाँडो म मेरो ठाउँबाट टाढा जाँदैछु भन्ने सोँचेर । पासपोर्टमा भिस्सा लागेपछि विदेश जान भनेर सबैसँग बिदावारी भएर, रोइरहेका आफन्तहरुलाई नरुनुभन्दै तर आफु चाहीँ रुँदै एकाविहानै घरबाट निस्किँदा दोश्रोपटक कटक्क कुँडिदोरहेछ मन, यत्ति माया गर्ने आफन्तहरुबाट टाढिएर कहाँ कहाँको बिरानो भूमिमा जान नपरेको भएपनि हुन्थ्यो भन्ने सोँचेर । अनि जब सिरिङ्ग हुने गरि भुइँ छोड्दै आफुलाई बोकेको हवाईजहाज त्रिभुवन विमानस्थलबाट माथितिर नेपालकै भूमिमाथी उडिरहेको हुन्छ, त्यतिबेला तेश्रोपटक नमज्जाले भक्कानिँदो रहेछ मन, अब कहिले फर्केर आउनेहोला भन्ने सोँच्दै । त्यसपछिका दिनहरुमा चाहीँ हरेक क्षण, हरेक पल त्यही गाउँ सम्झिँरहँदो रहेछ मन, यतिबेला गाउँमा के भइरहेको होला भनेर । को के गरिहेका होलान् भनेर । यसरी पनि बढिरहँदो रहेछ गाउँघरको माया ।
विदेशमा बस्नेहरुको लागि त चाडबाडहरु पनि रुवाउनको लागि मात्रै आउँछन् । गाउँमा यतिबेला बुवा—आमाहरु, साथीभाईहरु के पो गर्दै होलान् भन्ने सोँच्दै बस्यो, थाहै नपाईकन् आँखामा आँशु टुप्लुक्क आइसक्दो रहेछ । यहाँ त प्रत्येक सासमा विदेश बिझाउँछ साथी, प्रत्येक धडकनमा गाउँको याद बल्झिन्छ ।” हो यसै भन्यौ त्यो सपनामा तिमीले मलाई ।
मन कुँडिएर आएथ्यो परदेशी साथी तिम्रा कुराहरु सुनेर । गाउँमा हुँदा भन्दा धेरै व्यवहारिक भएछौ । तिमीलाई गम्लङ्ग अँगालो हालेर अघाउञ्जेल रुन मन लागेको थियो तर तिमी भने केही बुज्रुक बनेर जीन्दगीमा दुख त जति पनि आईपर्छ नी, खल्लीबल्ली यार भन्दै मलाई पो सम्झाउन खोज्दैथ्यौ ।
त्यति नै बेला करेसामा आएर हाप्सिलो कराउनाले बिउँझिएँ म । तर त्यो सपना भने दोहोरिरह्यो मनभित्र, विपना जस्तै बनेर ।

न्यास्रो बोकेर बसेका छौँ, याद बोकेर बसेका छौँ ।
तिमी आएपछि रुन आँशु रोकेर बसेका छौँ । ।
हुन त त्यस्तो ठुलो के नै छर गाउँघरमा
हामी पनि त हरखबत जीन्दगी जोखेर बसेका छौँ । । ।

(((((((((((((महङ्गी चुलिएर आकाशै छोइसक्यो))))))))))))))

स्रोत : http://www.eutamanchhe.blogspot.com and Mahabir Biswakarma (Bahakine Man)
Download Problem Click Here For Download Manager : Internet Download Manager
Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test